नियम २२
पुनरावेदन गर्ने सम्बन्धी कार्यविधि
(१) नेपाल सरकार वादी हुने मुद्दामा कुनै अदालत वा मुद्दा हेर्ने अधिकारी बा निकायबाट भएको फैसला उपर मिसिल संलग्न प्रमाणबाट पुनरावेदन गर्नु पर्ने देखिएमा त्यस्तो मुद्दा अभियोजन वा बहस पैरवी गर्न बा फिराद दायर गर्न वा त्यस्तो फैसला उपर पुनरावेदन दायर गर्न तोकिएको सरकारी वकीलले पुनरावेदनको मस्यौदा तयार गरी पुनरावेदन दायर गर्ने जिम्मेवारी भएको सरकारी वकील कार्यालयमा पुनरावेदन गर्ने म्याद शुरु भएको दश दिनभित्र पठाई सक्नु पर्नेछ । तर जिल्ला अदालतमा पुनरावेदन लाग्ने मुद्दामा जिल्ला सरकारी वकील कार्यालयको सम्बन्धित सरकारी वकीलले पुनरावेदन वा निवेदन गर्नेछ ।

(२) उपनियम (१) बमोजिम पुनरावेदनको मस्यौदा प्राप्त भएपछि सम्बन्धित सरकारी वकील कार्यालयका सरकारी वकीलले प्राप्त मस्यौदा जाँचबुझ गरी पुनरावेदन गर्नु पर्ने देखिएमा नेपाल सरकारको तर्फबाट सम्बन्धित अदालतमा पुनरावेदन गर्नु पर्नेछ ।